introduction - rajan bhattarai

संक्षिप्त परिचय

बार्ह वर्षको उमेरमा राजनीतिमा सक्रिय रहन थालेदेखि अहिलेसम्ममा उहाँले निरङ्कुशताका विरुद्ध निरन्तर जुझारु सङ्घर्ष गर्दै आउनु भएको छ । २०३५/०३६ को जनसङ्घर्षदेखि यताका हरेक आन्दोलनमा उहाँको सक्रियता रहँदै आएको छ । विद्यार्थी राजनीतिको बेलामा होस् वा पार्टी राजनीतिमा सक्रिय भएपछि, कुनै पनि समयमा नेपालको वामपन्थी एवम् लोकतान्त्रिक आन्दोलनमा उहाँको भूमिका सङ्घर्षशील रहेको छ । नेकपा (एमाले) को निर्माण, विस्तार र सुदृढीकरणमा लामो समयदेखि सक्रिय क. राजन भट्टराई देशकै एउटा बौद्धिक व्यक्तित्वको रूपमासमेत परिचित हुनुहुन्छ

जन्म
क. राजन भट्टराईको जन्म २०२५ साल असार २९ गते सिन्धुपाल्चोक जिल्लाको सिन्धुकोट गाउँमा भएको हो । उहाँको जन्म मध्यमवर्गीय परिवारमा भएको हो । मध्यमवर्गीय परिवार भएपनि विभिन्न दुखकष्ट र बाधा/व्यवधानहरूसँग जुध्दै उहाँले आफ्नो जीवनलाई अगाडि बढाउनु भएको छ । राजनीतिक जीवनमा मात्र होइन, व्यक्तिगत जीवनमा पनि उहाँले कठोर सङ्घर्षहरू गर्नुभएको छ । त्यही सङ्घर्षकै कारण उहाँले राजनीतिमा पनि निरन्तर अगाडि बढ्ने सफलता पाउनु भएको छ ।

शिक्षा
क. राजन भट्टराईले प्राथमिक एवम् निम्नमाध्यमिक शिक्षा काठमाडौँको यसै क्षेत्रभित्र रहेको चाबहिलस्थित पशुपति मित्र माध्यमिक विद्यालयबाट प्राप्त गर्नुभएको हो । त्यसपछि उहाँले पुतलीसडकस्थित पद्मोदय माध्यमिक विद्यालयबाट २०४१ सालमा एस.एल.सी.पास गर्नुभयो । उच्च शिक्षा अध्ययनका सिलसिलामा उहाँले अर्थशास्त्र, गणित र अङ्ग्रेजी विषय लिएर त्रिभुवन विश्वविद्यालयको पाटन बहुमुखी क्याम्पसबाट २०४३ सालमा आइ.ए.पास गर्नुभयो । त्यसरी नै अर्थशास्त्र र अङ्ग्रेजी विषय लिएर त्रिभुवन विश्वविद्यालयकै त्रिचन्द्र बहुमुखी क्याम्पसबाट २०४७ सालमा बि.ए.पास गर्नुभयो । क. राजन भट्टराईले छात्रवृत्तिअन्तर्गत बेलायतको युनिभर्सिटी अफ लण्डनबाट २०५८ सालमा ‘इन्टरनेशनल रिलेशन तथा डिप्लोम्याटिक प्राक्टीस’ विषयमा एम.ए. पास गर्नुभएको छ । अध्ययनलाई अगाडि बढाउने क्रममै उहाँले ‘स्कूल अफ इन्टरनेशनल स्टडिज’ अन्तर्गत ‘भारत/चीन सम्बन्धका सन्दर्भमा नेपालको बदलिँदो सुरक्षा दृष्टिकोण’ शीर्षकमा भारतको जवाहरलाल नेहरु विश्वविद्यालय, दिल्लीबाट २०६९ सालमा विद्यावारिधि (पिएचडी) गर्नुभएको छ ।

राजनीतिक सक्रियता
क. राजन भट्टराई काठमाडौँको पुतलीसडकस्थित पद्मोदय माध्यमिक विद्यालयमा कक्षा ८ मा पढ्दै गर्दा २०३७/०३८ देखि अनेरास्ववियुका विभिन्न गतिविधिहरूबाट त्यस सङ्गठनप्रति आकर्षित हुनुभएको हो । सोही क्रममा उहाँ अनेरास्ववियुप्रति आबद्ध हुनुभयो । २०३७/०३८ सालमा उहाँ पद्मोदय माध्यमिक विद्यालयमा अनेरास्ववियुको प्रारम्भिक कमिटीको अध्यक्ष बन्नुभयो । सङ्गठित हिसाबले यो नै उहाँको जीवनको पहिलो राजनीतिक र साङ्गठनिक आबद्धता थियो ।

विद्यार्थी राजनीतिमा अगाडि बढ्ने क्रममै उहाँ २०३९ सालमा अनेरास्ववियुको काठमाडौं नगर विद्यालय कमिटीको सदस्य बन्नुभयो भने २०४० सालमा अनेरास्ववियुको काठमाडौं नगर विद्यालय कमिटीको सचिवमा चुनिनु भयो । २०४० सालदेखि तत्कालीन नेकपा (माले) सँग पार्टी सम्पर्क भई काठमाडौंको पूर्वी क्षेत्रको भूमिगत काममा उहाँको सहयोग रहन थाल्यो ।

राजनीतिक सक्रियतालाई अगाडि बढाउने सिलसिलामै क. राजन भट्टराई २०४१ सालमा अनेरास्ववियुको काठमाडौं जिल्ला कमिटी सदस्य बन्नुभयो भने २०४२ सालमा उहाँले अनेरास्ववियुको काठमाडौं जिल्ला कमिटी सदस्यको जिम्मेवारीका साथै अनेरास्ववियु काठमाडौं जिल्लाको पूर्वी इलाका अध्यक्षको जिम्मेवारी समेत सम्हाल्नु भयो । २०४३ सालमा अनेरास्ववियु काठमाडौं जिल्ला सहसचिव, २०४४ सालमा अनेरास्ववियु काठमाडौं जिल्ला सम्मेलन आयोजक कमिटीको संयोजक र २०४४ सालमै अनेरास्ववियुको नवौं राष्ट्रिय सम्मेलन आयोजक कमिटीको सदस्य हुँदै उहाँ २०४६ सालमा अनेरास्ववियु केन्द्रीय कमिटीको सचिव हुनुभयो ।

विद्यार्थी राजनीतिसँगसँगै उहाँ पार्टीको जिम्मेवारीमा पनि संलग्न रहँदै आउनु भयो । उहाँ २०४६ सालदेखि २०५० सालसम्म नेकपा (एमाले) को विद्यार्थी विशेष जिल्ला कमिटीको सदस्य रहनु भयो । उहाँ २०४८/०४९ सालमा अनेरास्ववियुको विदेश विभाग प्रमुख हुनुभयो भने २०४९ सालमा ‘एसियन स्टुडेन्ट एसोसिएशन’ (आसा) को सहमहासचिवमा चुनिएर २०५३ सालसम्म यसको केन्द्रीय कार्यालय हड.कड.मा कार्यरत रहनु भयो । उहाँले २०५० देखि २०५३ सालसम्म नेकपा (एमाले) को पूर्वी तथा दक्षिण पूर्वी एसिया जिल्ला कमिटीको सचिवको जिम्मेवारीसमेत सम्हाल्नु भएको थियो ।

२०५३ सालदेखि विद्यार्थी क्षेत्रको उहाँको जिम्मेवारी पूर्णरूपले पार्टी काममा स्थानान्तरित भयो । उहाँ २०५३ सालदेखि २०५८ सालसम्म नेकपा (एमाले) को विदेश विभागको सचिव हुनुभयो । २०५४ देखि २०५८ सालसम्म नेकपा (एमाले) उपत्यका समन्वय कमिटीको सदस्य तथा सोही कमिटीको प्रचार विभाग प्रमुखसमेत रहेर काम गर्नुभयो । २०६० सालदेखि २०६२ सालसम्म उहाँ पुनः नेकपा (एमाले) विदेश विभागका सचिव रहनुभयो । २०६४ सालदेखि पार्टीको विदेश विभागको सदस्य तथा २०६९ सालदेखि राष्ट्रिय प्रतिनिधि परिषद सदस्यका रूपमा कार्यरत क. राजन भट्टराई नेकपा (एमाले) को नवौँ महाधिवेशनबाट केन्द्रीय सदस्यमा निर्वाचित हुनुभएको हो ।

गिरफ्तारी/मुद्दा/जेल
क. राजन भट्टराई विद्यार्थीकालमा पहिलो पटक २०४० सालमा गिरफ्तारीमा पर्नुभएको थियो । त्यसपछि २०४१ सालदेखि २०४६ सालका बीचमा बाह« पटक गिरफ्तारीमा पर्नुभयो । गिरफ्तारीकै क्रममा २०४२ सालमा ८ महिना जेल जीवन बिताउनु भयो भने २०४४ सालमा ४ महिना जेल सजाय भोग्नुभयो । उहाँमाथि निरङ्कुश पञ्चायती शासकबाट २ वटा राजकाज मुद्दा लगाइएको थियो ।

उहाँ २०४६ सालको संयुक्त जनआन्दोलनमा उपत्यकामा विद्यार्थी आन्दोलनलाई अगाडि बढाउन भूमिगत रूपमा नेतृत्वकारी भूमिका खेले वापत पञ्चायती निरङ्कुशताको वारेन्टमा पर्नुभएको थियो । त्यसरी नै २०६२/०६३ को जनआन्दोलनमा अन्तर्राष्ट्रिय समर्थन जुटाउनका लागि महत्वपूर्ण भूमिका खेले वापत शाही शासनको वारेन्टमा पर्नुभएको थियो ।

अन्तर्राष्ट्रिय सभा/सम्मेलन र गोष्ठीहरूमा सहभागिता
अन्तर्राष्ट्रिय सभा/सम्मेलनहरूमा सहभागिता जनाउने क्रममा क. राजन भट्टराई पहिलो पटक २०४५ सालमा एसियामा प्रजातन्त्र र मानव अधिकार विषयमा ‘एसियन स्टुडेन्ट एसोसिएशन’ले थाइल्याण्डको बैंककमा आयोजना गरेको सम्मेलनमा सहभागी हुनुभएको थियो । त्यसको लगत्तै २०४६ मा लाओसमा आयोजित एसिया प्रशान्त युवा तथा विद्यार्थी सम्मेलनमा नेपाली विद्यार्थीको प्रतिनिधित्व गर्दै सहभागी हुनुभयो । त्यसपछि २०४७ सालमा फिलिपिन्समा आयोजित अन्तर्राष्ट्रिय शान्ति सम्मेलन, २०४८ मा दिल्लीमा आयोजित ‘एसियन स्टुडेन्ट एसोसिएशन’ को सम्मेलन, २०४८ मा ब्राजिलमा आयोजित वातावरण र विकास विषयक सम्मेलन, २०४९ मा मलेसियामा आयोजित वातावरण र विकास विषयक कार्यशाला, २०४९ मा अस्ट्रियामा सम्पन्न मानव अधिकारसम्बन्धी संयुक्त राष्ट्रसङ्घ विश्व सम्मेलन, २०५० मा जापानमा सम्पन्न शान्ति र विकाससम्बन्धी युवा सम्मेलन, २०५० मै अमेरिकामा आयोजित वातावरण र विकास सम्बन्धी सम्मेलन, २०५० मा फिलिपिन्समा आयोजित पूर्वी टिमोरबारे एसिया प्रशान्त सम्मेलन, २०५१ मा एसिया तथा प्रशान्त क्षेत्रमा प्रजातन्त्रको सुदृढीकरणमा युवाहरूको भूमिका विषयमा अस्ट्रेलियामा आयोजित अन्तर्राष्ट्रिय सेमिनार, २०५७ मा वामपन्थी र प्रजातान्त्रिक पार्टीहरूबारे अस्ट्रेलियामा आयोजित अन्तर्राष्ट्रिय सम्मेलन, २०५८ मा लण्डनमा आयोजित बेलायती विदेश नीतिबारेको सेमिनार, २०५८ मा बेल्जियमा आयोजित युरोपेली युनियन र यसको भूमिका विषयक सेमिनार, २०६१ मा बैंककमा आयोजित नेपालमा ‘डेमोक्रेटिक सेटव्याक’ विषयक कार्यक्रम, २०६३ मा श्रीलङ्कामा आयोजित गरिबी र शासन विषयक सम्मेलन, २०६५ मा पाकिस्तानमा आयोजित एसियाका राजनीतिक पार्टीहरूबारे अन्तर्राष्ट्रिय सम्मेलन र २०६६ मा चीनको कुनमिङमा सम्पन्न गरिबी निवारणमा चिनिया सहभागितासम्बन्धी ‘आइक्याप’ इन्टरनेशनल सम्मेलनमा सहभागी हुनुभएको छ ।

यसरी नै क. राजन भट्टराई प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार रहेका समयमा उच्चस्तरीय भ्रमणदलमा संलग्न रही विभिन्न मुलुकको भ्रमणमा सहभागी हुनुभयो । यस क्रममा उहाँले २०६६ मा इजिप्टमा आयोजित असंलग्न राष्ट्रहरूको शिखर सम्मेलन,न्युयोर्कमा भएको संयुक्त राष्ट्रसङ्घ महासभा बैठक, डेनमार्कमा सम्पन्न संयुक्त राष्ट्रसङ्घ जलवायु परिवर्तन सम्मेलन, २०६७ मा भुटानमा सम्पन्न सार्क शिखर सम्मेलन, ब्रसेल्समा सम्पन्न युरोपेली युनियनको एलडिसी सम्मेलन, रुसमा सम्पन्न अन्तर्राष्ट्रिय बाघ सम्मेलनलगायत चीन, भारत र कम्बोडियाको भ्रमण गर्नुभएको थियो । यसबाहेक पनि सुरक्षा, द्वन्द्व, अन्तर्राष्ट्रिय सम्बन्धलगायत अन्य आर्थिक तथा सामाजिक विषयहरूमा आयोजित अन्तर्राष्ट्रिय सेमिनार, कार्यशाला, सम्मेलन र गोष्ठीहरूमा उहाँको सहभागिता रहेको छ । विभिन्न मुलुकको भ्रमणका क्रममा त्यहाँको राजनीतिक, आर्थिक र सामाजिक विकासका विषयमा ज्ञान र अनुभव हासिल गर्ने काम उहाँले गर्नुभएको छ ।

विशेष ज्ञान र अनुभव
बौद्धिक राजनीतिक व्यक्तित्वको छवि निर्माण गर्नु भएका क. राजन भट्टराई विश्व राजनीति, अन्तर्राष्ट्रिय सम्पर्क/सम्बन्ध र कूटनीतिका सवालमा विशेष ज्ञान हासिल गर्ने युवा नेताका रूपमा परिचित हुनुहुन्छ । त्यही व्यक्तित्वकै कारण उहाँ नेपाल–भारत प्रबुद्ध व्यक्तिहरूको समूहका एक सदस्यसमेत हुनुहुन्छ । नेपाल–भारत बीचको सन् १९५० को सन्धिलगायत सबै सन्धि, सम्झौता र सहमतिहरूको पुनरावलोकन गर्ने र एक्काइसौँ शताब्दीमा नेपाल–भारत सम्बन्ध कस्तो हुनुपर्छ भन्ने विषयमा ठोस सुझाव दिन नेपाल सरकारबाट चार र भारत सरकारबाट चार जना गरी आठसदस्यीय समूह गठन भएको थियो ।

विगतमा २०७१ देखि २०७४ सम्म संविधानसभा सदस्य रहनु भएका क. राजन भट्टराईले लोकतान्त्रिक संविधानको निर्माणमा सक्रिय भूमिका खेल्नु भएको छ । त्यसबाहेक अन्तर्राष्ट्रिय सम्बन्ध तथा श्रम समितिको सदस्य रहेर त्यससम्बन्धी नीति–निर्माणमा समेत अहम् भूमिका खेल्नु भएको छ । उहाँ एसियाली राजनीतिक पार्टीहरूको युवा फाँटको अन्तर्राष्ट्रिय सम्मेलन (युथ विंग अफ इन्टरनेशनल कन्फरेन्स अफ एसियन पोलिटिकल पार्टीज – आइक्याप २०१४) को वरिष्ठ उपाध्यक्षसमेत हुनुहुन्छ ।

क. राजन भट्टराई २०६५ सालदेखि नेपालको शान्ति प्रक्रियामा सक्रिय रहनु भएको छ । उहाँले २०६५ सालदेखि नेपाल नीति अध्ययन प्रतिष्ठान (निप्स) को अध्यक्ष, २०६६/०६७ सालमा प्रधानमन्त्री माधवकुमार नेपालका परराष्ट्र सल्लाहकार, २०५९/२०६२ मा ‘नीति अनुसन्धान तथा विकास प्रतिष्ठान’ (आइपिआरएडी) मा अनुसन्धाता, २०५८/०५९ मा ‘नीत अनुसन्धान तथा विकास प्रतिष्ठान’ (आइपिआरडी) मा अनुसन्धान परामर्शदाता र २०६१÷०६२ मा ‘फ्रेन्ड्स फर पिस’ (एफएफपी), काठमाडौंमा अनुसन्धान परामर्शदाताका रूपमा अनुभव हासिल गर्नुभएको छ ।

पुस्तक/स्तम्भ लेखन र सम्पादन
क. राजन भट्टराईले सन् २००५ को फेब्रुवरीमा लेख्नुभएको ‘जियोपोलिटिक्स अफ नेपाल एण्ड इन्टरनेशनल रेस्पोन्सेज टु कन्फ्लिक्ट ट्रान्सफोर्मेशन’ शीर्षक पुस्तक प्रकाशित छ । उहाँले वामपन्थी राजनीति, समसामयिक राष्ट्रिय एवम् अन्तर्राष्ट्रिय राजनीति, अन्तराष्ट्रिय सम्बन्ध र सुरक्षाका विषयमा दुई दशक अगाडिदेखि नेपाली र अङ्ग्रेजी दुवै भाषामा लेखहरू लेख्दै आउनु भएको छ । दि हिमालय टाइम्स, दि काठमाडौं पोस्ट, कान्तिपुर दैनिक, नयाँ पत्रिकालगायतका पत्रपत्रिकाहरूमा उहाँका विविध विषयका लेखहरू प्रकाशित छन् ।

लेखनसँगै उहाँ सम्पादनको काममा पनि संलग्न रहँदै आउनु भएको छ । उहाँले ‘चेन्जिङ सेक्युरिटी डाइनामिक्स इन नेपाल’ (अगस्ट २००९), ‘इमर्जिङ सेक्युरिटी च्यालेन्जेज अफ नेपाल’ (डिसेम्बर २०१०), ‘ह्युम्यान सेक्युरिटी इन नेपाल कन्सेप्ट, इस्युज एण्ड च्यालेन्जेज’(२०१२) जस्ता पुस्तकको सम्पादन गर्नुभएको छ ।

प्रशिक्षण/अध्यापन
क. राजन भट्टराई विद्यार्थी कालमा देशको शैक्षिक अवस्था र विद्यार्थी आन्दोलनका बारेमा विभिन्न प्रशिक्षणहरूमा सहभागी हुनुभयो । त्यसयता थुप्रै प्रशिक्षण तथा अध्यापन कार्यमा उहाँको संलग्नता रहँदै आएको छ । पार्टी राजनीतिमा संलग्न रहेपछि उहाँ देश तथा विदेशमा पार्टीका कार्यनीति र रणनीतिका बारेमा अनेकौं छलफल, बहस र प्रशिक्षणहरूमा सक्रियतापूर्वक सहभागी रहँदै आउनु भएको छ । उहाँ वैचारिक बहस र प्रशिक्षणमा पनि सहभागी रहँदै आउनु भएको छ । उहाँले नेकपा (एमाले) को मार्गदर्शक सिद्धान्तको रूपमा रहेको जनताको बहुदलीय जनवादसम्बन्धी प्रशिक्षण तथा समकालीन सन्दर्भमा यसको सामाजिक/आर्थिक पक्षको व्याख्या/विश्लेषणमा पनि अभिरुचि राख्दै आउनु भएको छ । अन्तर्राष्ट्रिय सम्बन्ध, सुरक्षा र द्वन्द्वका बारेमा त्रिभुवन विश्वविद्यालयलगायत अन्य निकायमा विषय विशेषज्ञका रूपमा अध्यापन कार्यमा पनि उहाँ संलग्न रहँदै आउनु भएको छ ।