नेकपा विवादबारे नेता भट्टराई भन्छन्– ‘मेरा परेनन्, तेरा परेनन् भन्ने बेला होइन’

नेकपा विवादबारे नेता भट्टराई भन्छन्– ‘मेरा परेनन्, तेरा परेनन् भन्ने बेला होइन’

नेपाल कम्युनिस्ट पार्टी एकीकरण भए पनि अन्तिम संरचना बनाउने गृहकार्यमै छ ।

७ प्रदेश कमिटीका पदाधिकारी भर्खरै तय गरेको छ । तर, यहि विषयमा बरिष्ठ नेता माधवकुमार नेपालले ‘बखेडा’ झिकेका छन् । त्यतिमात्र होइन, विदेश भ्रमणमा रहेका अध्यक्ष केपी शर्मा ओली र सोमबारमात्र फर्किएका पुष्पकमल दाहाल प्रचण्डसहितको निर्णय मान्न नसकिने ‘कठोर’ अभिव्यक्ति नेपालले दिए । यसले नेकपालाई केही असर गरेको ठानिन्छ ।

दैनिक नेपालले नेकपाका केन्द्रीय सदस्य डा. राजन भट्टराईलाई सोधेको थियो– ‘यस्तो विवाद कसरी आयो ? के व्यवस्थापन हुन नसक्ने विवाद हो ?’

उनी भन्छन्–

अहिले यस्तो विवादको कुरा आएको छ । सचिवालयको बैठकले गरेका निर्णयमा उहाँको असन्तुष्टिका विषय पनि बाहिर सुनियो । तर नेता नेपाल बाहिर भएका बेला बैठक बसेको थियो । बालुवाटारमा अध्यक्षद्वय प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डसहित उपस्थित ७ जना सदस्य मध्ये सचिवालयका ४ जनाको सहमतिका आधारमा प्रदेश कमिटीमा इञ्चार्ज, सह–इञ्चार्ज, अध्यक्ष र सचिव छानिएको थियो ।

बालुवाटारमा त्यस दिन बैठक चलिरहेका बेला अध्यक्षद्वय र महासचिवले एउटा प्रस्ताव ल्याउनुभयो । सर्वसम्मतिले पास भयो । माधव नेपाल विदेश जाँदा बैठक बस्दैन होला भन्नुभएको रहेछ । तर, सर्वसम्मत हिसाबले बैठक बसेपछि निर्णय भएछ । यसमा उहाँको असन्तुष्टि देखिन्छ । तर यो त्यति गहिरो विवाद निकाल्ने विषय हो जस्तो लाग्दैन ।

हिजोका स्थितिमा हेर्ने हो भने पनि ७ वटा प्रदेश मध्ये ४ वटा प्रदेशमा पुराना मान्छे छन् । प्रदेश १ मा भीम आचार्य, २ मा सत्यनारायण मण्डल, ३ मा अष्टलक्ष्मी शाक्य र सुदूरपश्चिममा भिम रावल । नयाँ भनेको गण्डकीमा पृथ्वी सुव्वा गुरुङ, ५ नम्बर प्रदेशमा शंकर पोखरेल र कर्णाली प्रदेशमा जनार्दन शर्माले पाउनुभएको छ । सह–इञ्चार्चमा नयाँ साथीहरू आउनुभएको छ । हिजोको हिसाबले असन्तुलित छैन ।

जिम्मेवारीका हिसाबले पनि तत्कालिन एमालेको नवौं महाधिवेशनमा को कता थियो भनेर हेर्दा पनि असन्तुलित छैन । हाम्रो तहबाट हेर्दा यस्ता विषयलाई विवाद बनाइनु हुँदैन । बोल्ने मान्छेले पनि कुन कुरा कहाँ कसरी राख्ने भन्ने हेक्का लिनुपर्छ ।

उहाँले राखेका असहमति सम्बोधन गर्न नसकिने होइन । जीवन्त रहेको पार्टीमा यस्ता कुुरा हुन्छन् । आउँछन् । यो विवादलाई बढाएर लिएर जानुको अर्थ छैन ।

इतिहासले दिएको दायित्व र पाएको अवसरमा विवाद बढाएर लैजानु हुँदैन । पार्टीका विधानले दिएका अधिकार प्रयोग गर्नुपर्छ । अरुले अप्ठेरो पार्ने कोशिश गरिरहेका छन्, अरुको स्वार्थमा होइन, हाम्रा अभिभारालाई पूरा गर्नुपर्छ ।

संसदमा पनि सरकारका विषयमा आलोचना भयो । सरकारले चाहेको लक्ष्य लिन नसक्दा निस्किएका असन्तुष्टिलाई केहीले फाइदा लिन खोज्दा तिनलाई बल पुग्ने काम गर्नुहुन्न । विवाद नहुुँदा सबैभन्दा राम्रो तर विवाद व्यवस्थापन गर्ने तहमा छ । एकीकरण लामो सोचेर गरेका कारणले साना तिना विवाद आउँछन् । कमिटी बनाउँदा मेरा परेनन्, तेरा परेनन् भन्ने गर्नु हुन्न ।

अहिले अवस्था अलिकति धुमिलिएको जस्तो देखिन्छ । धुुमिलिएको वातावरण सङ्ग्ल्याउन केही समय लाग्छ । तर, त्यति परसम्म हामी पुगिसकेका छौं भन्ने छैन ।

नेताहरू बसेर छलफल गरेपछि उठेका केही विवादको समाधान हुन्छ । अहिले प्रायः नेताहरू विदेश भ्रमणमै व्यस्त हुनुभएका कारणले पनि केही समस्या देखिएको जस्तो लाग्छ ।

सम्बन्धित खवर